भरतपुर– पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकै दिन घण्टौंसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुपर्यो ।

गत जेठयता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट १०९ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्ड (मुग्लिन मौवाखोला) मा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उनले बताए ।

‘पहिरोका कारण कति रात सडकमा बिताएका छौं,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।’ उनले सडक खण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताए ।

‘जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, अधिकांश समय पहिरोका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ,’ उनले भने । अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गरे । उनले सडक खण्डमा पहिरो नआउनका लागि दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने बताए ।

सडक खण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुट रुपमा पहिरो खस्ने गरेको छ ।

सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए । उहाँले मौरी पुलमा भौगोलिक बनावट र शाखा बाटोकै कारण ठूलो पानी पर्नासाथ पहिरो खस्ने गरेको जानकारी दिए ।

मौरी खोलाले बगाएर ल्याएको ढुंगा–माटो जम्मा भएकाले पनि समस्या भएको उनको भनाइ छ । ‘खोलाको ढुंगा–माटो समयमै उठाउन सकिएको भए समस्या कम हुने थियो । दुई पुलमध्ये एउटा पुल पुरिएको छ । पानी आउनासाथ लेदो बगेर सडक पुरिहाल्छ,’ उनले भने ।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाउन २० किलोमा एउटा लोडर र जेसिभी, मौरी पुलमा चेन भएको स्काभेटर, मुग्लिनमा एउटा लोडर र फिस्लिङमा एउटा लोडर तयारी अवस्थामा राखिएको छ । जुगेडीदेखि मौवाखोलासम्मको सडकका लागि सडक डिभिजन कार्यालय भरतपुरले सबै स्रोतसाधन तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय