काठमाडौं– दसैं नजिकिँदै गर्दा देशभरका महत्त्वपूर्ण ६ सडक पूर्ण रुपमा र २२ आंशिक रुपमा अवरुद्ध रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी, त्रिशूली–धुन्चे, डुम्रे–बेसीसहर–चामे सडक, कर्णाली राजमार्ग सुर्खेत तल्लो डुंगेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
वर्षाका कारण आएको बाढीपहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिक रुपमा सवारीसाधन सञ्चालनमा रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ । अवरुद्ध रहेको स्थानमा लोडर र स्काभेटरको प्रयोग गरेर खुलाउने प्रयास भइरहेको र सँगसँगै वैकल्पिक सडकका लागि स्थानीयवासीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ ।
यता त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ । सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ । कर्णाली राजमार्गको हर्रे, सेतो भिर, दरबारे, पदुका, रामघाट, किट्टुलगायत स्थानमा सडक अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सडक सुचारु गर्न प्रयास भइरहेको छ ।
जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काभेटरको प्रयोग गरी खुलाउने प्रयास जारी छ । हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बँेसीशहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालु रहेको छ ।
यस वर्ष नै वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल १४५ सडक पूर्ण रुपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ । विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ । गत वर्ष वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडकखण्डसमेत पटकपटक अवरुद्ध भइरहेका छन् ।
अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।









