काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकबीच एकआपसमा गाभिने (मर्जर) समझदारी भएको छ ।

सोमबार दुवै बैंकले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी बैंक बराबरी हैसियतमा गाभिने भएका छन् ।

एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारीका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल रहनेछन् भने कुमारीका सिइओ रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहने छन् । नाम भने कुमारी बैंक रहने सहमति छ ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने बताइएको छ । हाललाई बराबरी हैसियतमा गाभिने समझदारी भए पनि यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ ।

यी दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्नेछ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ छ ।

यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ छ ।

कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय