काठमाडौं– अम्बे ग्रुपले असोज १२ गते नेपालगन्जस्थित होटल सोल्टीमा आफ्ना लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गराई शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्जमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकूलित तथा नेपालकै ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्रान्ड सफल भएकोमा डिलरहरुलाई धन्यवाद व्यक्त गर्दै ग्रुपका अध्यक्ष हरि न्यौपानेले आगामी दिनमा पनि उच्च मनोबलका साथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टिल र सिमेन्ट बिक्री गर्न उत्प्रेरित गरे ।
उक्त अवसरमा अम्बे स्टिलका ब्रान्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशमा यति ठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुका साथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पुर्याएकोमा ग्रुपलाई धन्यवाद तथा आभार व्यक्त गरे ।
सोही अवसरमा ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समयसापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नविनत्म सोचसहित विभिन्न नयाँ भेन्चर थप्दै लगिने जानकारी गराए ।
उक्त अवसरमा दुई प्रदेशका प्रायः सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीमध्येबाट लक्की ड्रमार्फत तीन जना विजेता छनोट गरी आकर्षक उपहार समेत महजोडीको हातबाट हस्तान्तरण गरिएको ग्रुपको विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार रचना रिमाल, सुमन कोइराला (दले दाई), कविता नेपालीलगायतले आफ्नो कला प्रस्तुत गरेका थिए ।









