काठमाडौं– उमेर नपुगेकी युवतीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध एक महिनाअघि बलात्कृत भनिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
कतारको दोहाबाट बिहीबार बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।
गत भदौ २१ मा एक युवतीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले भदौ २३ गते लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतको पक्राउ अनुमतिलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राखेको थियो । नेपाल क्रिकेट संघ(क्यान)ले पनि उनलाई कप्तानबाट निलम्बन गरेको थियो ।
लामिछाने क्रिकेट खेल्ने सिलसिलामा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । भदौ २४ गते सामाजिक सञ्जालमार्फत आफू निर्दाेष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेले पछि बिरामी परेर आइसोलेसनमा बस्नु परेकोले नेपाल फर्किन ढिलो भएका बताएका थिए । प्रहरीले गत असोज ७ मा इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर विश्वभरका प्रहरीमार्फत लामिछानेको खोजी अघि बढाएको थियो ।
लामिछानेमाथि लागेको आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।









