काठमाडौं– केपी शर्मा ओली र ओली समर्थकको दम्भले सीमा नाघेपछि नेता घनश्याम भुसालले एमाले छाडेका छन् । शनिबार उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै पार्टीमा नरहने बताएका हुन् । ४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि त्यो सम्भव नदेखेपछि एमाले छाड्नुपरेको उनको भनाइ छ ।

‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उनले स्टाटसमा लेखेका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा एमालेले उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन् ।

यसअघि नै ओलीसँग असहमत भुसाललाई ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकटबाट वञ्चित गरेपछि उनले सहन नसकेर पार्टी छाडेका हुन् । भुसालले रूपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।

रूपन्देही क्षेत्र नम्बर १ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । रूपन्देही भुसालको गृह जिल्ला हो । भुसाल २०७४ को चुनावमा वाम गठबन्धनको तर्फबाट रूपन्देही ३ मा उम्मेदवार बनेका थिए । उनले उक्त चुनाव जितेका थिए ।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति पूर्वाग्रही थिए । ओलीले आफ्ना गुटविरूद्ध उम्मेदवारी दिएका भीम रावल, भुसाल लगायत नेतालाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए । ओलीले भीम रावललाई पनि टिकटबाट वञ्चित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय