काठमाडौं– मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पनि उच्च बिन्दुले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार दसैंपछि सेयर कारोबार भएको पहिलो दिन आइतबार नेप्से परिसूचक ४४.६२ बिन्दुले उक्लेर १८९८.३८ मा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ बिन्दुले उकालो लागेर ३७२.२१ मा पुगेको छ । २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँ मूल्यमा कारोबार भयो ।
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
आइतबारको कारोबारपछि कुल पुँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार २२२ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ६९ लाख ८१ हजार ७४४ बराबरको कारोबार भएको छ ।
नबिल बैंक ३ करोड ५१ लाख ९८ हजार ४ सय २९, हिमालयन डिस्टिलरी २ करोड ३१ लाख ४४ हजार ५७१, अपि पावर कम्पनी १ करोड ८९ लाख १७ हजार २६९ र शिवम् सिमेन्टको १ करोड ७७ लाख ८४ हजार २५४ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।









