काठमाडौं– इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर बिक्री नभएर बाँकी रहेका ५० हजार ३१० कित्तासहित ६ लाख ७० हजार ३१० कित्ता सेयर एक सय रुपैयाँ अंकित मूल्यमा निष्कासन गरेको छ ।
कुल निष्कासित सेयरमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता कर्मचारीलाई छुट्याई बाँकी ६२३ हजार तीन सय ८९ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ ।
लगानीकर्ताले निष्कासन गरेका सेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुनेछ ।
कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्दै आएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो सेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।









