सुर्खेत– उद्योग वाणिज्य संघ भेरीले बैंक, वित्तीय संस्थाको पछिल्लो व्यवहारप्रति आपत्ति जनाएको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले हालसालै ल्याएको चालु पुँजी मार्गदर्शन २०७९ को आडमा बैंक वित्तीय संस्थाले आर्थिक मन्दीको अवस्थामा निजी क्षेत्रलाई धराशयी बनाउने गरी ब्याज र ऋण लगानीमा कडिकडाउ गरेको गुनासो गरेको छ ।
संघले बैंक, वित्तीय संस्थाको उक्त व्यवहारको विरोध पनि गरेको छ । कोभिड–१९ लगायत समस्याले सिंगो राज्य नै आर्थिक मन्दीको संघारमा उभिएको बेला अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान दिएको निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरि ढंगले महिनैपिच्छे बढाउने र सेवा शुल्कको नाममा अतिरिक्त आर्थिक भार थप्ने काम बैंकहरुले गरेको संघको आरोप छ ।
बैंकहरुले ब्याज किस्ताका लागि तारन्तार मानसिक दबाब दिँदा निजी क्षेत्र हतोत्साहित भएको संघको गुनासो छ । उक्त समस्यालाई लिएर विभिन्न संस्थाले गरेको आन्दोलनप्रति पनि संघले ऐक्यबद्धता जनाएको छ ।
संघले ६ बुँदे साझा माग पनि अघि सारेको छ । जसमा कर्जाको ब्याजदर एक अंक कायम गरी स्थायित्व दिनुपर्ने, बैंकहरुले विभन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, पुरानो चालु पुँजीको कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुनःसंरचना गर्न दिनुपर्ने, बैंकले यसअघि बढाएको सम्पूर्ण लिलामी प्रक्रिया आगामी चैत मसान्तसम्मका लागि रोक्नुपर्ने र राष्ट्र बैंकले जारी गर्ने रिपोको दर एक प्रतिशतमा झार्नुपर्ने छन् ।









