बेहलिया– तस्करी व्यापक बढ्दासमेत स्थानीय प्रशासनले नियन्त्रणमा पहल नगरेको भन्दै सीमा क्षेत्रका व्यवसायीले प्रशासनको आलोचना गरेका छन् ।
उद्योग व्यापार संगठन, रूपन्देहीको १५औं वार्षिक साधारणसभामा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहँदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताए ।
गौचनले सीमापारि सुनौलीमा चाडपर्वका बेला करोडौंको व्यापार हुँदा सीमावारि नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीले मारमा परेको बताए । उनले अब यस्तै अवस्था रहने हो भने केही दिनमै सयौं व्यवसायीको व्यवसाय बन्द हुने बताए । ८० वर्षीय गौचनले चार दशकको व्यावसायिक जीवनमा सबैभन्दा बढी चोरी तस्करी यतिबेला भइरहेको भन्दै स्थानीय प्रहरी प्रशासनको चर्को आलोचनासमेत गरे । ‘सीमापारीबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारी भैरहवाको व्यापार चौपट भएको छ । अरु केही नगरे पनि भन्सारको सङ्क्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौं,’ उनले भने ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘मान्छे सीमापारि जान रोक्न सकिँदैन तर, सीमापारिबाट भन्सार नगरेको सामान रोक्न, नियन्त्रण नगरेर प्रशासन रमिते बनेर बसेको छ ।’
भण्डारीले कानुनअनुसार संक्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्नसमेत माग गरे । जिल्लाको मर्चवार, केवटलिया, पिपरिहिया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौँली, चन्नी, करौँता, थुमुहवा पिपरहवा, मुडुलालगायतका नाकाबाट दैनिक चोरी तस्करी गरेर दाल, तेल र चामललगायतका सामान भित्रिरहेका छन् । भैरहवा मूल भन्सार नाका अगाडिबाट घरायासी समान भन्दै दिनहुँ हजारौं मानिसले भन्सार नतिरी सामान ल्याउने गरेको व्यवसायीको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सीमापारि किनमेलको लागि जाने मानिस रोक्न नसकिने भन्दै व्यवसायीको सुझाव र गुनासोलाई आत्मसात गर्दै सुरक्षा सतर्कतामा विशेष ध्यान दिने बताए ।
‘हामीले राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षागस्ती बढाउने, घरायासी प्रयोजनका लागि भारतीय बजारमा जाने संस्कारलाई निरुत्साहित गर्ने काम अगाडि बढाउने, सीमापारिबाट भन्सार नगरी ल्याएको समान खरिद गर्ने प्रचलनलाई रोक्नुपर्दछ,’ उनले भने ।
उद्योग व्यापार संगठन, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सीमा क्षेत्रका व्यापारी चोरी तस्करीका कारण मारमा परेको बताए ।









