काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तीय संस्थाको स्प्रेडदर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीको १५औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा अध्यक्ष मल्लले अकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महँगीले जनतामा समेत असर गरेको बताए ।

कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लको भनाइ छ । ‘मुलुकको अर्थतन्त्रमा चौतर्फी दवाव परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर वृद्धिले व्यवसायीलाई निकै आहत बनाएको छ,’ मल्लले भने ।

हालको स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा ब्याजदर घट्ने अध्यक्ष मल्लको भनाइ छ ।

स्थानीय प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायहरुको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंकमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव दिए ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि बढ्दो व्याजदरका कारण अर्थतन्त्रनै धराशयी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्ललको भनाइ छ ।

सो अवसरमा अध्यक्ष मल्लले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा पनि जोड दिए ।
लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपाली औद्योगिक हब भैरहवा सेजभित्र उद्योगहरुको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने उनले बताए । भन्सार नाकालाई व्यवस्थित गरेर व्यापार सहजीकरण गर्न समेत अध्यक्ष मल्लले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय