काठमाडौं– अमेरिकी डलरको मूल्यले बिहीबार नयाँ कीर्तिमान बनाएको छ । एक डलरको मूल्य १३३ रुपैयाँभन्दा माथि पुगेपछि कीर्तिमान कायम भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार (आज)का लागि एक अमेरिकी डलरको विनिमय दर १३३ रुपैयाँ १४ पैसा तोकेको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ पहिलोपटक यति कमजोर भएको हो । भारतीय रुपैयाँ कमजोर हुँदा अमेरिकी डलरको मूल्य आकाशिएको हो । नेपालमा अमेरिकी डलरको विनिमय दर भारतले तोक्ने विनिमय दरको आधारमा निर्धारण गरिन्छ । भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर रहेका कारण भारतमा डलर महँगिए नेपालमा पनि महँगिन्छ भारतमा सस्तिए यहाँ पनि सस्तिन्छ ।

बुधबार भारतमा अमेरिकी डलरको विनिमय दर प्रतिडलर ८३ भारतीय रुपैयाँ तोकिएको थियो । यो अहिलेसम्मकै उच्च विनिमय दर हो ।
अमेरिकी डलरको भाउ बढ्दा हरेक चिज आयात गर्नुपर्ने नेपालमा महँगी बढ्छ । डलरको मूल्य वृद्धिले हामीले प्रयोग गर्ने लत्ता कपडा, औषधी, खानेकुरा लगायत हरेक चिजको भाउ बढ्छ । पछिल्लो समय इन्धनको भाउ अचाक्ली बढ्नुका पछाडि डलरको मूल्य वृद्धिको पनि हात छ ।

सरकारले लिएको वैदेशिक ऋणको साँवाब्याज डलरमै भुक्तानी गर्नुपर्ने हुँदा डलर महँगिदा सरकारी ढुकुटीबाट भुक्तानी गर्नुपर्ने रकमको आकार बढ्छ । त्यसैगरी मुलुकमा सञ्चालित ठुल्ठूला परियोजनाले प्रयोग गर्ने यन्त्र उपकरण विदेशबाटै आयात गर्नुपर्ने हुँदा तिनको लागत पनि बढ्छ ।
विदेशमा उपचार गराउने, विदेश भ्रमण गर्ने र विदेशमा अध्ययन गर्नेहरुले पनि थप व्ययभार बोक्नुपर्छ ।

डलर महँगो हुँदा रेमिट्यान्स प्राप्त गर्ने परिवारको भने आम्दानी बढ्छ । त्यसैगरी डलरमा भुक्तानी पाउने निकासीकर्ता र पर्यटन व्यवसायीलाई पनि फाइदा हुन्छ । उनीहरुले बिक्री गर्ने वस्तु र सेवाको मूल्य डलरमा तोकिने हुँदा उत्ति नै डलर प्राप्त गर्दा पनि नेपाली रुपैयाँ भने बढी हुन जान्छ । यो उनीहरुका लागि अतिरिक्त लाभ हो । डलरको मूल्य वृद्धिले सीमित क्षेत्रलाई लाभ भए पनि समग्र नेपालको हकमा भने अर्थतन्त्रका लागि यो हानिकारक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय