काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.३८ विन्दुले ओरालो लागेर १ हजार ८४४.१४ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ नौ विन्दुले उकालो लागेर ३६३.०५ पुगेको छ । २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर ५० करोड ७६ लाख ८९ हजार ५६१ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अंकको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।
सो कम्पनीको ३ करोड ६९ लाख ५२ हजार ९०१ बराबरको कारोबार भयो । गरिमा विकास बैंक २ करोड ६७ लाख ५४ हजार ३१६, एभरेस्ट बैंक २ करोड ४९ लाख ४ हजार ७५३, नबिल बैंक २ करोड ३७ लाख ८८ हजार २७१ र एनआइसी एसिया बैंकको १ करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर ९.९७, बिन्दवासिनी हाइड्रोपावर ४.३७, विशाल बजार कम्पनी ४.०४, नारायणी डेभलपमेन्ट बैंक ३.४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेन्चुरी बैंकको ऋणपत्र ७.७३, सामुदायिक लघुवित्त ७.६७, अभियान लघुवित्त ६.५९, हिमालयन पावर पाटर्नर ५.६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.५६ प्रतिशतले गुमाएका छन् ।









