काठमाडौं– त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झन्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयरबापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ सर्वसाधारण सेयरधनीमध्ये झन्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ संकलन भएको छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीले बताएको छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिम दिन अगावै आवेदन दिन सेयरधनीहरुलाई आग्रह गरेका छन् ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे हुन्छ ।

आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीले रकम बुझाउन सक्नेछन् । सेयरधनीले यसरी रकम भुक्तानी गर्दा आस्बा शुल्क समेत तिर्नु नपर्ने बताइएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय