काठमाडौं– उदार अर्थतन्त्रको पक्षपाती नेपाली कांग्रेस सत्तामा रहँदा सेयर बजार बढ्छ भन्ने विश्वासमा रहेका लगानीकर्ताका लागि कांग्रेसको यसपालिको चुनावी घोषणापत्रले ‘ब्याड न्युज’ बोकेर आएको छ । नेपाली कांग्रेस पनि घरजग्गा र सेयर बजारप्रति कठोर बन्ने संकेत घोषणापत्रमा छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गर्दै कांग्रेसले शनिबार सार्वजनिक गरेको संकल्पपत्र (चुनावी घोषणापत्र) मा घरजग्गा र सेयर बजारलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गरिएको छ ।

चुनावपछि कांग्रेस नेतृत्वमा सरकार बनेर चुनावअघिको प्रतिबद्धता पूरा गर्नेतर्फ पार्टी केन्द्रित भयो भने रियल स्टेट र सेयर बजारका लगानीकर्ताले नराम्रो खबर सुन्नुपर्नेछ । संकल्पपत्रमा यी दुवैलाई अनुत्पादक क्षेत्र भनिएको छ ।

बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ठूलो हिस्सा यिनै क्षेत्रमा जाँदा रोजगारी सृजना हुन नसकेको र जग्गाको मूल्य अस्वाभाविक रुपमा बढेको संकल्पपत्रमा उल्लेख गरिएको छ ।

संकल्पपत्रमा भनिएको छ– लामो समयसम्म अवलम्बन गरिएको विस्तारवादी मौद्रिक नीतिका कारण कर्जाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा प्रवाहित हुँदा रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान कम छ भने आयात र जग्गाको मूल्यमा जग्गाका अस्वाभाविक वृद्धि भएको छ ।

संकल्पपत्रमा सेयर बजारको नाम नलिए पनि अहिलेसम्म धेरैले यसलाई अनुत्पादक भन्दै आएका छन् । सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकले त सेयर बजारलाई प्रस्ट रुपमा अनुत्पादक भन्दै त्यसमा प्रवाह हुने कर्जामा सीमा तोक्दै आएको छ ।

कांग्रेसको सरकार बने सेयर बजारमा उछाल आउने अपेक्षामा रहेका लगानीकर्ताका लागि कांग्रेसको घोषणापत्रले निराश बनाउन सक्ने विश्लेषकहरु बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय