सुर्खेत– कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले कर्णालीमै पहिलोपटक ल्याब स्थापनापछि खाद्य गुणस्तर मापनमा सहज भएको र उपभोक्ताको विश्वसनीयता पनि बढेको जानकारी दिए ।

‘हामीले कर्णालीमै पहिलोपटक खाद्य वस्तुको गुणस्तर मापनका लागि ल्याब स्थापना गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म हामीले दूध, तेल, सागपातलगायतका ९६ वटा नमूना परीक्षण गरिसकेका छौं, यसले नागरिकको गुणस्तरीय खाद्यान्न प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।’

प्रयोगशाला स्थापनापछि खाद्यान्नप्रतिको नागरिकको गुनासो सम्बोधन हुँदै गएको उनको भनाइ छ । प्रयोगशालामा पर्याप्त जनशक्तिको अभाव देखिएको छ । ल्याब मात्र चलाउने नभई कार्यालयमा २१ जनाको दरबन्दी भएको उल्लेख गर्दै उहाँले अहिले आठ जनामात्रै कर्मचारी रहेको जानकारी दिए । ‘कर्मचारी अभावमा हामीलाई सेवा दिन असहज भइरहेको छ, यो समस्या चाँडै समस्या हुनुपर्छ,’ उनले भने ।

कार्यालयले बजार अनुगमनलाई पनि तीव्रता दिएको छ । साउनदेखि असोजसम्म दुई सय ४८ पटक बजार अनुगमन गरिएको र मापदण्ड बाहिर रहेका तीनवटा दलहन उद्योग शिलबन्दी गरिएको छ । अहिले कार्यालयलाई प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगलिक विकता, सीमित स्रोत, साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय