पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित अलैंची सुपरजोनको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले अलैंचीको सुपरजोन मानिने कोलेली र धितालकोस्थलगत अनुगमन गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अनुदानमा गरिएको अलैंची खेतीको अनुगमनका क्रममा प्रमुख पौडेल नगदे बाली मानिने अलैँची खेतीप्रति कृषकहरु आकर्षित भएर खेती विस्तारमा लागेको बताए ।

‘माछापुच्छ्रेवासीलाई अलैंची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ,’ उनले भने, ‘सेपिलो जग्गामा हुने अलैंची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो देखियो ।’ खेर गएको जमिनलाई सदुपयोग गर्दै एकचोटिको मेहनतले लामो समय प्रतिफल लिन पाइने भएकाले अलैंची खेतीतर्फ स्थानीयको आकर्षण बढेको बताउनुभयो यस क्षेत्रलाई अलैंची गाउँका रुपमा विकास गरी कृषकका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वय इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडाहरुमा अलैँची खेती अनुदान कार्यक्रम सञ्चालन गरिएको र यसबाट प्रतिफल पनि राम्रो पाइएको बताए । उनले भने, ‘माछापुच्छ्रेको कोलेली, धिताल अलैँची जोनको अनुगमनमा कृषकहरु यसखेतीबाट लाभान्वित भएको पायौं, व्यक्तिगत र समूहमा गरेर अलैंची खेती गरेका छन् ।’

उनले अनुदानबाट सिँचाइमा ८५ प्रतिशत र क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, अलैंची सुकाउने आधुनिक भट्टी निर्माण, यन्त्र उपकरण, नर्सरी, बेर्नालगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिए । अनुगमनका क्रममा केही कृषकको माग सम्बोधन नभएको गुनासो, बिक्रीका लागि भारतीय बजारको भर पर्नु परेको, केही ठाउँमा छहारी व्यवस्थापन गर्नुपर्ने आवश्यता, अलैंची बाली कटान त्यसपूर्वका कामको लागि स्थानीय कामदारको अभावलगायत समस्या कृषकले सुनाएका थिए । यस कार्यक्रमले कृषकहरुलाई अलैंची खेतीतर्फ आकर्षित गरेको उनको भनाइ छ ।

परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठका अनुसार कास्की जिल्लाको माछापुच्छ्रे, गाउँपालिका–२, ६, ७, ८ र मादी गाउँपालिका– १, २, ३, ८, १० र ११ त्यसैगरी अन्नपूर्ण गाउँपालिका–१, ३, ४, ७, १० र ११, पोखरा महानगर–१६ र १९ मा अलैंची जोनका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।

कोलेलीमा करिब ७० रोपनी जग्गामा अलैंची खेती गरेका ज्योति अग्र्यानिक कृषि फार्मका सञ्चालक नरेशराज लामिछानेले अहिले यस क्षेत्रका स्थानीय अलैंची खेतीबाट निकै उत्साहित र लाभान्वित भएको बताए । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु हुने, खेर गएको जग्गामा खेती गर्न सकिने र नगदे बाली भएकाले आयआर्जनको राम्रो माध्यम बनेको उनको भनाइ छ ।

माछापुच्छ्रे मर्दी अलैंची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैंची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय