काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।
हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेजमा आयोजित एक विशेष कार्यक्रममा कलेजका प्रधानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।
त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रममा कलेजका प्रधानाध्यापक मनिता ओली र बैंकका मानव संशधन विभागका प्रमुख कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यो सम्झौतापश्चात बैंकले कलेजका विद्यार्थीहरुका लागि इन्टर्नसिप अवसर, जब फेयर कार्यक्रम, बैंकिङ सचेतना कार्यक्रम, गेस्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने बताइएको छ । यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।










