काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित महासंघका पदाधिकारी र कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच सोमबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधि तथा कोरियाको अनुभव आदानप्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

सो अवसरमा महासंघका कार्यबाहक अध्यक्ष ढकालले प्रतिनिधिमण्डलको स्वागत गर्दै कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्त्वपूर्ण रहेको बताए । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे ।

कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झक्झक्याइरहेको र सोहीअनुसार बाह्य लगानीसंग सम्बन्धित महत्त्वपूर्ण ऐन कानुनहरु संशोधन समेत भइसकेको स्पष्ट पारे । नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफूहरूले गरेको उनले बताए । नेपालमा सबै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको पनि उनले जानकारी गराए ।

महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी सो भेटवार्तामा महासंघका तर्फबाट कोरियन उत्पादनमूलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ उर्जाको राम्रो प्रबन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।

भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैं तयार रहेको बताए । महासंघले दिएका सुुझाव कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वास उनले दिलाएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय