झापा– बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज नीतिको विरोध गर्दै झापा उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघले बुधबार जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, विशिष्ट सदस्य अजयकुमार साहेवाला, वरिष्ठ उपाध्यक्ष खड्क लिम्बु, एसोसिएट्स उपाध्यक्ष प्रज्वल राई, महासचिव पंकज शर्मा, प्रेस सल्लाहकार रोहित काफ्ले, कार्यालय सचिव दुर्गा खतिवडा लगायत झापाभरिका उद्योग वाणिज्य संघका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए ।
पछिल्लो समय बैंक वित्तीय संस्थाले ब्याजदर बढाएकोमा देशभरका उद्योगी, व्यवसायीले विरोध गरिरहेका छन् । कतिपय संघ ठाउँमा व्यवसायीहरु सडकमै उत्रेर विरोध गरिरहेका छन् । बैंकहरुको चर्को ब्याजदरका कारण व्यवसाय नै बन्द गरे पलायन हुनुपर्ने स्थिति आएको व्यवसायीको गुनासो छ ।









