काठमाडौं– सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ मूल्य तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८–७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा प्रतिक्विन्टल २२६ रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानका लागि २ हजार ९०२ रुपैयाँ मूल्य तोकेको थियो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ । चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न सरकारले चालु आर्थिक वर्षका लागि ३३ करोड विनियोजन गरेको छ । यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुने छैन ।

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल ११२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ । गत वर्ष यो कार्यक्रमअनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय