काठमाडौं– घरेलु तथा साना उद्योग महासंघले बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धि गर्नुका साथै उद्योगीलाई कालो सूचीमा राख्न थालेको भन्दै आपत्ति जनाएको छ ।

नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले थपे, ‘एकातिर बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक उद्योगलाई ऋण प्रवाह गरेका छैनन्, अर्कोतर्फ मनोमानी र एकतर्फी ढंगले चर्को रुपमा ब्याजदर बढाइरहेका छन् । परिणामस्वरुप बजार भाउ अप्रत्यासित रुपमा उकालो लागिरहेको छ ।’

यस्ता प्रतिकुल बैंकिङ नीति र बैंक तथा वित्तीय संस्थाले कर्जाकोे ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योेग व्यवसाय धरापमा पर्दै गएको भन्दै उनले यसबाट मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको बताए ।

यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मूकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासंघले यसलाई आम जनताले नेताहरुले आउदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको छ ।

प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) ऐन विपरीत केही निजीक्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरु बैंकर पनि आफैं र उद्योगी व्यापारी पनि आफैं भएको हुँदा आफ्नो अन्तरबैंकिङ सम्बन्धलाई प्रयोग गर्दै आफूहरुले सस्तो ब्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएको महासंघको ठहर छ ।

उनीहरु एकातर्फ बैंकमार्फत बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्कोतर्फ उद्योगी व्यवसायीको पक्षमा बोले जस्तो गर्ने निजी क्षेत्रका ती छाता संस्थाका पदाधिकारीको नाटकीय चरित्र तथा बैंकहरुले देखाएको व्यवहारको महासंघले घोर भर्त्सना गरेको छ ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकर्स संघ समेतको गम्भिर ध्यानाकर्षण गराउदै बैंकहरुले एकतर्फी ढंगले वृद्धि गरेको ब्याजदर, प्रिमियम लगायत सेवा शुल्कका अतिरिक्त कोभिड १९ को लकडाउनकोे अवधिमा समेत आपूर्ति व्यवस्थालाई नियमित राख्न जोखिम मोलेर उद्योग सञ्चालन गरेका लघु घरेलु तथा साना उद्योगीहरुलाई कालो सूचीमा राख्ने सूचनाको विरोधमा आम निर्वाचनकै समयमा पनि आन्दोलित हुनुपर्ने बाध्यतातर्फ सचेत गराउँदै यो समस्या समाधानका लागि अग्रसर हुन महासंघले आग्रह गरेको छ । र अन्यथा हुने आन्दोलनको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने तर्फ महासंघले सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय