काठमाडौं– सरकारले आगामी मंसिर ४ गते हुने आम चुनावका लागि दुईथरी सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारले केही निकायलाई २ दिन र केहीलाई ४ दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थाहरु ४ दिन र सरकारी कार्यालयहरु २ दिन बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।
सूचना अनुसार मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा हुनेछ ।
सरकारी कार्यालय र सार्वजनिक निकायको हकमा भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।










