काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका दिन निर्वाचन आयोगले अनुमति दिएका सवारीसाधनमात्र चल्न पाउने भएका छन् ।
आयोगले गरेको निर्णयअनुसार मतदानको दिन बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, दूध बोक्ने सवारीसाधनले अनुमति लिनु पर्दैन ।
त्यस्तै, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीका सवारीसाधन पनि सञ्चालन हुन पाउनेछन् ।
खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन र निर्वाचन आयोगबाट जारी परिचयपत्रबाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन पनि मतदानको दिन सञ्चालन हुन पाउने निर्णय आयोगले गरेको छ ।
तरकारी, फलफूल तथा विद्युत् सेवामा प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोग, द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेटका सवारीसाधनको साथै विदेशी पर्यटकमात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन पनि चलाउन पाइने आयोगले जानकारी दिएको छ ।
यी बाहेक अन्य सवारीसाधन आयोगबाट पास लिएर मात्र सञ्चालन गर्न पाइनेछ ।










