काठमाडौं– गएको साउनदेखि असोजसम्ममा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा १६.८ प्रतिशतले धेरै हो ।
राष्ट्र बैंकका अनुसार विदेशमा रहेका नेपालीले गत असोजमा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । यो रकम भदौको तुलनामा एक अर्ब रुपैयाँले कम हो । भदौमा ९५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । उक्त वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७ हजार ९३२ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।









