काठमाडौं– नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्या समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरिएको छ ।

बुधबार एक कार्यक्रम आयोजना गरी उक्त सेवा सार्वजनिक गरिएको हो । राष्ट्र बैंकका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारी, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधि तथा मिडियाकर्मीको सहभागिता रहेको उक्त समारोहमा नेपाल बैंकर्स संघका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एप अनावरण गरी सुरु गरेका थिए ।

कार्यक्रममा स्मार्ट चोइस टेक्नोलोजिजका सञ्चालक सान्तराज बतासले फास्ट बैंकिङबारे विस्तृत जानकारी दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङ एक्पिरियन्सलाइ थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनुपर्ने बाध्यता रहेको औंल्याउदै सो सोलुसनमा थप सुविधाका साथ ओपन एपिआईमार्फत बैंकका थप सेवालाई मोबाइल बैंकिङ मै जोड्न सकिने जानकारी दिए । फास्ट बैंकिङले बैंकका शाखामा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत् रुपमा घटाउन सकिने जानकारी दिइएको छ ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

हाल ग्लोबल आइएमई बैंकमा सञ्चालनमा ल्याइसकिएको यो सुविधा कसरी फरक छ र यो सुविधा सञ्चालन गरेपछि बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभव बैंकका ट्रान्जेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले साटेका थिए ।

कार्यक्रममा मन्तव्य दिँदै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नवीनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय