बागलुङ– चेतनाको अभाव हो वा दल या उम्मेदवारप्रतिको वितृष्णा । बागलुङको एक मतदान केन्द्रका बाकसमा अनेक किसिमका मतपत्र भेटिएको छ ।

बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा ६ वटा चुनाव चिह्न छन् । छाप लगाउन निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले ६ वटै चिह्नमा छाप लगाएका छन् । यस्तो बदर मतको संख्या निकै छ । मतपत्रमा रहेका कुनै पनि चिह्नमा छाप नलगाएका मतपत्रको संख्या पनि उत्तिकै छ ।

नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरुले नो भोटको स्वरुपमा मत बदर गराइरहेको देखिँदैछ ।

केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाई छाडिएको छ । बागलुङ क्षेत्र नं १ मा १४ हजार एक हजार २३ मतगणना हुँदा चार सय ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।

‘कैयौं मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्,’ मतगणनामा सहभागी एक कर्मचारीले भने, ‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौं भने कुनै मतपत्रमा चाहिँ सबै चिह्नमा छाप लगाइएको पनि छ ।’ दलहरु तथा उम्मेद्वारप्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं १ प्रदेशसभा (१) मा १५ हजार नौ सय तीन मतगणना हुँदा तीन सय ५२ र प्रदेशसभा (२) मा १५ हजार एक सय ६५ मतगणना हुँदा तीन सय ९१ मत बदर भएका छन् ।

‘बृद्धबृद्धा र अशक्तका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो,’ नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खगेन्द्र पौडेलले भने, ‘सबै चिह्नमा लगाउने, खाली मत खसाल्ने गतिविधि नजानेरभन्दा जानेरै गरेको हुनुपर्छ ।’

दलहरुले बदर मत, विगतका निर्वाचनमा भन्दा फरक नतिजा आउने गरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको वितृष्णा किन उत्पन्न भइरहेको छ भन्ने विषयको अब खोजी हुनुपर्ने बागलुङ नगरपालिका–२ का युवा मनिष रायमाझी बताउँछन् ।

‘एक मतदाताले भने मैले मत दिएँ तर मन लागेर दिएको होइन । आफ्नो अधिकार प्रयोग गरौं भनेर गएँ तर सबैमा लगाइदिएँ,’ बागलुङ नगरपालिका–२ का एक मतदाताले भने, ‘निर्वाचन हारजितको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, न त उनीहरु चुनाव जितेर गएपछि जनताका दुःख के छन् भनेर हाम्रो घरमा फर्केर आए, त्यसैले मलाई मत दिनै मन लागने ।’

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपथ्र्याे त्यसैले भूलवस या नजानेर पनि मत बदर हुने सम्भवान धेरै थियो । तर अहिले त्यस्तो छैन । सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट र थोरै चिन्हहरु । तर पनि यो निर्वाचनमा बदर मत धेरै अनि विभिन्न स्वरुप र तरहमा आएका छन् । त्यसैले आगामी निर्वाचनहरुमा समृद्ध व्यक्ति र निकायले यस विषयमा सोचविरचार गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय