मुस्ताङ– यस वर्ष मुस्ताङबाट ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको ६ हजार ६ सय मेट्रिक टनमध्ये ७० प्रतिशत ४ हजार ६ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

भदौमा प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मंसिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० भएको छ । सरदर प्रतिकिलो ११० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् ।

जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए ।

‘बगैंचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो,’ उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’

कुल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा १ हजार ५७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए ।

यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष ४४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन् ।

यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैंचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैंचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्न मुस्ताङका विभिन्न ६ वटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताए । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत १२५ वटा सहकारी/समूह/निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।

समुद्री सतहदेखि करिब २ हजार ५०० मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ ।

उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोसेलीका रूपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने ६ वटा उद्योग छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय