काठमाडौं– बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मंसिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्ट्याएको दुई लाख ५० हजार कित्ता सेयरमा एक लाख ४६ हजार कित्ता तोकिएको बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कुल पाँच लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्ने सेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले मंसिर २६ सम्म आवेदन दिन सक्नेछन् । साथै, उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म आवेदन दिन पाइनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले बागलुङको जैमिनी नगरपालिका १, ४ र ५ मा पर्ने ठेउले खोलामा एक दशमलव पाँच मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय