काठमाडौं– माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा यही मंसिर २३ गतेदेखि प्रतिकित्ता एक सय अंकित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता सेयर छुट्याएको छ ।
त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका–८ र ९, धर्मदेवी नगरपालिका–३, ४ र ५ तथा मादी नगरपालिका–४ र ६ का बासिन्दाका लागि छुट्ट्याइएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्रबाहेक संखुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
निष्कासन गरिने शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
निष्कासन गरिने शेयरमा स्थानीय बासिन्दाले प्राइम कमर्सियल बैंक, नेपाल एससबआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडबाट सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्बा’ प्रणालीमार्फत सेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बिबिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।









