काठमाडौं– माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल १० लाख कित्ता सेयर छुट्ट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं. ३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक संखुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन अनलाइनबाट दिन सकिने

कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् । स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय