काठमाडौं– एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख २४ हजार कित्ता सेयरको प्राथमिक निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख बराबरको ३ लाख ४० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्ट्याएको छ ।

त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ४० प्रतिशत अर्थात १ लाख ३६ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्याेदय नगरपालिका–११ का स्थानीय बासिन्दाका लागि छुट्ट्याइएको छ ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्रबाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने २ लाख ४ हजार कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने सेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आइएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्बा’ प्रणालीमार्फत शेयर खरिदका आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारिमा रहेकाले कसरी दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्बा’ प्रणालीमार्फत तथा मेरो सेयरमार्फत शेयर खरिदको आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा नेपालीले विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत् ‘मेरो सेयर’ प्रयोग गरी सेयर खरीद आवेदन दिन सकिने सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

एसियन हाइड्रोपावरलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी बिबी आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय