काठमाडौं– गएको कात्तिकमा महँगी (उपभोक्ता मुद्रास्फीति) ८.०८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार कात्तिकको महँगी वृद्धिदर अघिल्लो वर्ष कात्तिकको यस्तो महँगी ६.०४ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.६३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

कात्तिकमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गतको होटल तथा रेस्टुरेन्ट उपसमूहको मूल्य सबैभन्दा धेरै बढेको छ । यो उपसमूहको उपभोक्ता मूल्य सूचकांक १५.९७ प्रतिशतले बढेको छ ।

त्यसपछि सुर्तीजन्य पदार्थको मूल्य धेरै (११.८१ प्रतिशत) बढेको देखिन्छ । दुग्ध पदार्थ र अण्डाको मूल्य ९.३३ प्रतिशतले बढेको छ । त्यसैगरी खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशतले मूल्य बढेको छ । मदिराजन्य पेयको मूल्य ८.८४ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

गैरखाद्य र सेवा समूहतर्फ यातायातको १७.७१ प्रतिशतले, स्वास्थ्यको ११.२२ प्रतिशतले, मनोरञ्जन तथा स.सकृतिको ८.७६ प्रतिशतले र घरायसी उपयोगका वस्तुको ८.४९ प्रतिशतले बढेको छ । फर्निसिङ तथा घरासयी उपकरणको मूल्य ८.३३ प्रतिशतले बढेको छ ।

क्षेत्रगत हिसाबले हेर्दा कात्तिकमा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले महँगी बढेको छ । २०७८ कात्तिकमा यी क्षेत्रमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशतले महँगी बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय