काठमाडौं– कुनै समय ७ महिनाभन्दा कम अवधिका आयात धान्ने स्तरमा ओर्लेको विदेशी विनिमय सञ्चिति बढेर कात्तिक मसान्तमा ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने स्तरमा उक्लेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिकमा मात्रै १५ करोड डलरले विदेशी विनिमय सञ्चिति बढेको छ । सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा विदेशी विनिमय सञ्चिति बढेको हो ।

गत कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ६३ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ । गत असोजमा यस्तो सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर थियो ।

नेपाली रुपैयाँमा २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिकमा २.५ प्रतिशतले बढेर १२४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १०९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १५५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

२०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०७९÷८० को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ । २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय