काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताएका छन् ।

बिहीबार यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उनले पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा आशा गर्ने ठाउँ भएको बताए ।

उनले भने, ‘पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान हुँदैछ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मको तथ्यांक हेर्दा आशा गर्ने ठाँउ छ । कोरोना महामारीले असर पारेको पर्यटन व्यवसाय उठ्दै गएको छ । अहिलेको अवस्था हेर्दा अब हामी सन् २०२३ मा सन् २०१९ मा जस्तै १२ लाख पर्यटक भित्र्याउन सक्छौं ।’

सन् २०२२ को ११ महिनामा ५ लाख ४९ हजार विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । सचिव अधिकारीले पर्यटन प्रर्वद्धनका लागि रणनीतिक योजना महत्त्वपूर्ण भएको भन्दै उनले कार्ययोजना बनिरहेको जानकारी समेत दिए ।

‘पर्यटन प्रवर्द्धनका लागि सरकारले २०२३ देखि २०३३ सम्मका लागि नेपाल भ्रमण दशकको घोषणा गर्दै छ । त्यसको कार्ययोजना तर्जुमा भइरहेको छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डअन्र्तगत युएनडीपीको सहयोगमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन’ परियोजनासँगको सहकार्यमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले देशका सातवटै प्रदेशमा तालिम सञ्चालन गरेको थियो । तालिमले पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पूरा गरी पर्यटन व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गरेको सचिव अधिकारीको भनाइ छ ।

तालिम कार्यक्रममा सहभागी पर्यटन व्यवसायमा आबद्ध चार सय ३० प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा प्रकाशन गरेको तालिम निर्देशिकासमेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय