काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा रहेका पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल वैशाख १ गतेबाट पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा सुरु गरेका पोखरेल त्यसपछि सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बनेका हुन् ।
उनी स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरुको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेको बैंकले जनाएको छ ।
नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशकअघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बनेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए ।
यसैगरी, मेगा बैंकबाट स्वेच्छिक अवकाश लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ ।
उनको सम्मानस्वरुप आयोजना गरिएको बिदाई कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरुले बैंकमा १३ वर्षभन्दा बढी अवधि सेवा गरेकी श्रेष्ठलाई बैंकको उन्नति, प्रगति तथा श्रीबृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिनुका साथै उनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।









