काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा बिहीवारका दिन सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको बैंकले जनाएको छ ।
साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९ अर्ब ५५ करोड ३९ लाख ९ हजारको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८–७९ को वित्तीय अवस्थाको विवरण, नाफानोक्सान विवरण, नगद प्रवाह विवरण तथा सोसम्बन्धी अनुसूची पारित गरेको छ ।
उक्त साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७.२९ अर्ब र कर्जा रकम ८७.४५ अर्ब परिचालन गरी ३१.८५ करोड खुद आर्जन गरेको विज्ञप्तिमा उल्लेख छ ।









