धुन्चे– रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्न खाले ३०५ वटा सवारी साधन रसुवागढी नाकाबाट स्वदेश भित्रिएको हो ।
यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार १३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटा रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारीसाधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधि तुलना गर्दा तयारी पोसाकका सामग्री ६ सय ३९, हाइड्रोका सामग्री ३ सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री ७, नस्पाती ११ ट्रिपका साथै काठका तयारी फर्निचर ५ ट्रक आयात भएका छन् ।
ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय ट्रिपभन्दा बढी भएको बताइएको छ । कोभिड संक्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि मालसामान भने चिनियाँ ठूला कन्टेनरबाट चिनियाँ सवारी चालकले नै नेपाल ल्यादिने गरेका छन् ।
प्रत्येक दिन बिहान र दिउँसो दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुला गरी औषधी छ्याप्ने चलन बसालिएको छ । केरूङबाट चिनियाँ मालसामान रसुवागढीमा ल्याउँदा जतिपटक सामान आउँछ उत्तिपटक औषधी छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मंसिरसम्म चीनबाट आयात भएका सामग्रबाट २ अर्ब ९० करोड राजस्व संकलन भएको छ ।
यसैगरी यही मंसिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट १ करोड ३१ लाख बराबरको माल सामान चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । १० दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । निकासी भएका सामानमा बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत छन् । कोभिड संक्रमण नियन्त्रण गर्न नेपाली भूभागको क्वरेन्टिनमा बसेका कामदारबाट निकासीका सामान पल्टी गर्ने व्यवस्था मिलाइएको छ ।
रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउन १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन् । रोग निर्मलीकरणका लागि रसुवागढीमा औषधी छर्कन सुरु गरिएको जनाइएको छ । रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म दैनिक करीब तीन सयजना मजदुरले रोजगारी पाएका छन् ।









