काठमाडौं– खुला सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाइ एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो ।

भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबार नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेकोे छ । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजस्वसमेत गुमाइरहेको छ ।’

चेम्बरले गृहमन्त्री लामिछानेलाई दिएको सुझावमा भनिएको छ, ‘खुला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइरहेको छ । यसबाट राजस्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीले प्रतिस्पर्धा गर्न समेत नसकेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनुपर्छ ।’

नेपाल–भारत खुला सीमाको फाइदा उठाएर झन्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनुपर्नेमा जोड दिए ।

चेम्बरले सीमा व्यापारलाई व्यवस्थित गर्नुपर्ने सहित विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ । वैदेशिक रोजगारप्बाट फिर्ता हुने युवाको सीपको विवरण संकलन गरी उनीहरुको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण मिलाउन समेत चेम्बरले आग्रह गरेको छ ।

नेपालमा पछिल्लो समय बैंकिङ सफ्टवेयर ह्याक हुने, एटीएमबाट अनधिकृत रुपमा पैसा चोरी हुनेलगायतका वित्तीय अपराधका घटना बढेकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नसमेत चेम्बरले गृहमन्त्री लामिछानेलाई आग्रह गरेको छ ।

सर्वसाधारणसँगै निजीक्षेत्र पनि साइबर अपराधको सिकार भइरहेकाले सरोकारवाला सबैसँग सुझाव लिई, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा साइबर सुरक्षासम्बन्धी कानुन बनाई व्यवस्थित गर्न चेम्बरले माग गरेको छ ।

पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्त्वपूर्ण हुने भन्दै काठमाडौंको ठमेल, चितवनको सौराहा तथा पोखरास्थित रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले चल्ने वातावरण मिलाउन गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएको छ ।

गृहमन्त्री लामिछानेले सीमामा भईरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको जानकारी दिए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । कानुन उल्लंघन नहुने हदसम्मका लागि व्यावसायिक वातावरण बनाउन आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर