काठमाडौं– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डूको सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपछि ग्लोबल आइएमई बैंकको सय कित्ता सेयर प्राप्त गर्नेछन् ।

मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । बैंकको वित्तीय विवरणका आधारमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपछि बैंकको शाखा सञ्जाल ३ सय ६५ र एटिएम ३ सय २८ पुग्नेछन् ।

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य रहनेछन् ।

साथै मर्जरपछि बैंक अफ काठमाण्डूका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डूका तर्फबाट दुईजना रहने सहमति भएको थियो ।

तीन दिन सेवा बन्द
पुस २५ गते एकीकृत कारोबार अगाडि ३ दिन बैंक अफ काठमाण्डू लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि पुस २२ देखि २४ गतेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय