काठमाडौं– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर भई एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कुल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । एकीकृत कारोबारको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताए । मुलुकको वित्तीय क्षेत्रको कुल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उनको दाबी छ ।

‘यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौं । आजको मर्जरपछि झनै माथि उक्लिन सफल भएका छौं । योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कुल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौं,’ ढकालले भने ।

एकीकृत कारोबारपछि बैंकको कुल पुँजी कोष ५७ अर्ब पुगेको छ । निक्षेप संकलन ४ खर्ब १० अर्ब, कर्जा प्रवाह ४ खर्ब र कुल सम्पत्ति ५ खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुर्याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर १ हजार १०० शाखा तथा ३ वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ । ‘मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौं, सरकारको यो नीतिको कार्यान्वयनबाट अरु बैंक तथा वित्तीय संस्था पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौं,’ उनले भने ।

बैंकको आकार र वित्तीय सूचकांकमा ठूलो देखिनु मात्र सफलता नभई मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ ।

‘मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पुर्याउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौं,’ उनले भने ।

ठूलो बैंक हुनुका पछाडि अवसर मात्र नभएर कैयौं चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ । पटक–पटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गरे ।

बैंकहरुको पुँजी कम हुँदा अहिलेको आवश्यकताअनुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी संख्यामा बैंकहरुको सहकार्य गर्नुपर्ने अवस्था भएको ढकालको भनाइ छ । ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय