काठमाडौं– नेपाल टेलिकमले पुस २८ देखि लागू हुने गरी विन्टर अफर २०७९ सार्वजनिक गरेको छ । कम्पनीले साबिकको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको जानकारी दिएको छ ।
यसमा सस्तो भ्वाइस प्याकदेखि असीमित डाटासम्म छन् ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १९९ देखि ६९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । यस अफर अन्तर्गत जम्मा ६९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १०० मिनेट कुराकानी गर्ने र दैनिक १०० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी ४९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार ६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा ३४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ ।

त्यसैगरी १९९ रुपैयाँमा २८ दिनका लागि कुल ४ हजार २०० एमबी डाटा ((दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफरअन्तर्गतका १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन् ।

स्टे कनेक्टेड अफरअन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको छ । जम्मा १३० रुपैयाँमा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्ने गरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गराएको छ । १०० रुपैयाँ र २०० रुपैयाँका स्टे कनेक्टेड अफरहरुलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ ।

यसैगरी एफटिटिएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट ब्यान्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट ब्याडविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयाँमा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्छ । एफटिटिएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको ३७३ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र ३७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता दिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याकअन्तर्गत ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका असिमित सुविधा प्रयोग गर्न सकिने प्याकहरुले पनि निरन्तर पाएका छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको ५९९ रुपैयाँको प्याक उपलब्ध छ ।

त्यसैगरी, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, सबै नेटवर्कमा २०० वटा सन्देश पठाउन र प्रतिदिन १ जीबी डाटा ३० दिनसम्म चलाउन सकिन्छ ।

यस्तै, ९९९ रुपैयाँ र १४९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत सबै नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जिबी र ४ जिबी डाटा तथा ४०० वटा र हजारवटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय