काठमाडौं– मुलुकमा विदेशी विनिमय सञ्चिति ९ अर्ब ८२ करोड डलर पुगेको छ । गत असारमा ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति मंसिरमा आइपुग्दा ३ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति भने ६.३ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२९२ अर्ब ५६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तको १०५६ अर्ब ३९ करोडबाट बढेर मंसिर मसान्तमा ११३९ अर्ब २२ करोड पुगेको छ । यो ७.८ प्रतिशतको वृद्धि हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले कमी आई १५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।

आर्थिक वर्ष २०७९–८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय