काठमाडौं– उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको छ ।

लामिछानेका कानुन व्यवसायी सुवास पाठकले थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा आइपुगेको जानकारी दिएका हुन् । उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने जानकारी दिए । प्रक्रिया पूरा गर्दा लामिछानेलाई थुनामुक्त हुन दिउँसो चार बज्ने देखिएको उनले बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालासले बिहीबार लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन पाउने छैनन् ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेले नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय