काठमाडौं– प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनको पक्षमा १ सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा १०० मत खसेको थियो । मतदानमा २ सय ६८ सांसदले भाग लिएका थिए । एक जनाले मत दिएनन् ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम संख्याका बहुमत प्राप्त गरेर घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे । सभामुखमा घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने उम्मेदवार थिए ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए । नेपाली कांग्रेसकी न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए ।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

२०१३ सालमा ताप्लेजुङमा जन्मेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए ।

विसं २०४९ मा उनी एमालेको केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज छन् ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय