काठमाडौं– नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयात एलसीमा लागू गरेको ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गरेको छ । केन्द्रीय बैंकले एक वर्षअघि विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि आयातमा कडाइ गर्ने नीतिअन्तर्गत विभिन्न वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंक विदेशी विनिमय विभागले परिपत्र जारी गर्दै यसअघि लागू गरेको ५० र १०० प्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गरेको हो । यसअघि राष्ट्र बैंकले १४ सयवटा वस्तु आयातका लागि शतप्रतिशत र ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । तीमध्ये मंसिर १७ गते निर्माणसँग सम्बन्धित हार्मोनिक कोडका ६८ वस्तु आयातमा नगद मार्जिन हटाइसकेको थियो । बाँकी वस्तुको सो व्यवस्था बिहीवार (माघ ५ गते) खारेज गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरी डीडी र टीटीबाट पनि आयात गर्न पाउने व्यवस्था गरेको छ । वस्तु आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिनुका साथै, प्रतीतपत्र खोलेरमात्रै आयात गर्नुपर्ने व्यवस्थामा समेत सहजीकरण गरिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब आयातकर्ताले आफ्नो सुविधाअनुसार एलसी, ड्राफ्ट, टीटी, डीडीमार्फत पनि वस्तु आयात गर्न पाउँछन् ।

आयातकर्ताले भारतबाहेक अन्य मुलकबाट ड्राफ्ट, टीटीमार्फत वस्तु आयात गर्दा ३५ हजार डलरसम्म र भारतबाट ३ करोड भारुसम्मको वस्तु आयात गर्न पाउनेछन् भने डीएपी डीएमार्फत ५० हजार डलरसम्मको वस्तु आयात गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय