जनकपुर– धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।

दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए ।

अपहरणकारीले २० लाख लिएर सर्लाहीको मलंगवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । ‘हामीले यसबारे भारतीय प्रहरीलाई खबर ग¥यौं,’ धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने, ‘भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।’

भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको डिएसपी क्षेत्रीले बताए । हत्यामा संलग्न भएको आशंकामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय