
काठमाडौं– मंगलवार काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका इलामका प्रेम आचार्यको निधन भएको छ ।
शरीरको ८० प्रतिशत भाग जलिसकेका आचार्यको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा बुधबार विहान निधन भएको सो अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिएका छन् ।
आचार्यले फेसबुकमा लामो स्टाटस लेखेर आत्मदाह गरेका थिए । आफूले गरेको कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेका थिए ।
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मंगलबार साँझ अस्पताल गएर आचार्यलाई भेटेर उनको स्वास्थ्यस्थिति बुझेकी थिइन् ।