काठमाडौं– राजधानी उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेसन निर्माण गर्ने भएको छ ।

नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधसमेत न्यूनीकरण गर्न उक्त सबस्टेसन निर्माण गर्न लागिएको हो ।

प्राधिकरणले आगामी ३० वर्षसम्म काठमाडौं उपत्यकाभित्र बिजुलीको माग सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए ।

यस्तै नदी किनारै किनार १३२ केभी क्षमताका प्रसारण लाइन बनाइने उनको भनाइ छ । उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सबस्टेसन निर्माण गर्न लागिएको हो ।

प्रसारण पूर्वाधार तथा सबस्टेसनको अभावमा काठमाडौंमा बाध्यकारीरुपमा लोडसेडिङ हुनसक्ने अवस्था सिर्जना भएको प्राधिकरणको भनाइ छ ।

उपत्यकाभित्र कुल ६६ केभीदेखि २२० केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुपर्ने भएकाले विद्यमान प्रसारण लाइन तथा सबस्टेसनको संरचनागत सुधार, स्तरोन्नति एवं विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको हो ।

सोही क्रममा साबिकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुंगा गाविसको ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको छ । सो सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार कुल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय