काठमाडौं– नेपालमा आज हालसम्मकै उच्च मूल्यमा सुनचाँदी कारोबार भइरहेको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाा तोकेको छ ।
यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ७ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।









